अचाक्ली बजार घटेपछि इतिहास दोहोरिन्छ भन्दै वायर ओइरिए, ३५ प्रतिशत भन्दा तल नजाने बजारको इतिहास यस्तो छ

https://merolagani.com/NewsDetail.aspx?newsID=76581

तर बजारमा जसरी वायर ओइरिएका छन् त्यस अनुरूप भने उनीहरूले शेयर खरिद गरेका छैनन्। उनीहरूले थोरै थोरै मात्रामा मात्रै शेयर किनिरहेका छन्। किनकि बजार माथिल्लो बिन्दुबाट २८ प्रतिशतले तल झरिसकेको छ। छोटो समयमै २८ प्रतिशतले घटेपछि बजार बाउन्स व्याक हुने बिन्दु तर्फ आइपुगेको भन्दै उनीहरू बिस्तारै बजार पस्न थालेका हुन्।

अघिल्लो बुलमा पनि बजारले ऐतिहासिक अंक छोएको ६ महिनामा नै ३३ प्रतिशत गुमाएको थियो। त्यसपछि बढेको बजार पुनः रेकर्ड उन्मुख रहेको थियो। तर ‍बजारले रेकर्ड नै भने तोड्न सकेको थिएन। अघिल्लो बुलमा बजार १८८१.४५ अंकसम्म उक्लिएको थियो। २०७३ असार १३ मा बजारले उक्त अंक भेट्टाएको थियो। उक्त अंक भेट्टाएको बजार ६ महिना १५ दिनमै तल्लो बिन्दु १२५२.५० अंकसम्म ओर्लिएको थियो। जुन माथिल्लो बिन्दुबाट ३३.४२ प्रतिशतको गिरावट हो।

हरेक बुलमा बजारले ऐतिहासिक अंक छोएको केही महिनामै ३० प्रतिशत भन्दा बढी गुमाउने गरेको पुराना लगानीकर्ताहरूको अनुभव छ। जसले गर्दा पनि माथिल्लो बिन्दुमा शेयर बिक्री गरेर बसेका पुराना लगानीकर्ता बिस्तारै बजार प्रवेश गर्न थालेको पुराना लगानीकर्ता ध्रुव थापाले बताए। “जहिले पनि बजार उच्च बिन्दुमा पुगेपछि केही महिना तीव्र गतिले घट्छ। २८ देखि ३५ प्रतिशतसम्म बजार घटेका उदाहरण छन्। यस आधारमा बिस्तारै बजार पस्दै गर्दा राम्रो हुने देखिएकोले खरिद कर्ता बजार पस्न थालेका हुन्” थापाले भने।

बजारले छोएको २२ सय ८२ अंकलाई उच्चतम बिन्दुबाट गणना गर्दा सोमबारसम्म बजार २८.६५ प्रतिशत घटी सकेको छ। केही कम्पनी सोमबार नै यस अवधिको तल्लो बिन्दु छोएर माथि उक्लिएका छन् भने केही अझै थप तल्लो बिन्दुमा ओर्लिएका छन्। कम्पनीहरूको घटाइका हिसाबले पनि लगानीकर्ताले कुनैमा खरिद आदेश बढाउँदै लैजान थालेका छन् भने केही कम्पनीमा अझै पर्ख र हेरको अवस्थामा छन्। किनकि अब बजार घट्दो लयको तल्लो बिन्दुको बटम लाइनतर्फ आइपुगेकोले उनीहरूले त्यस किसिमको रणनीतिमा काम गर्न थालेको थापाको भनाइ छ।

तर तल्लो बिन्दु यही हो भन्न सक्ने आधार भने थापासँग छैन। विगतमा भएका कारोबार इतिहासकै आधारमा यस्तो विश्लेषण थापाले गरेका हुन्। हुन त इतिहास दोहोरिन्छ। तर थापाले भनेजस्तै गरी इतिहास दोहोरिन्छ नै भन्ने यकिन नै भने गर्न सकिन्न। तर उनले भने जस्तै इतिहास साँच्चै दोहोरियो भने बजार अब धेरै घट्न सक्ने स्थितिमा देखिँदैन। बजार यति बेलाको बटम लाइनमा आएको देखिन्छ। तर इतिहास दोहोरिएन भने बजारले अर्को नयाँ इतिहास भने पक्कै बनाउने छ।   

वर्षो लगाएर बुल बियरको यात्रा तय गर्ने बजारमा तीन महिनामै ठूलो अंकको गिरावट देखिएपछि यस पटकको बजार घटाइ निक्कै खतरनाक देखिएको छ। माथिल्लो बिन्दुबाट ९१६ अंकले झर्दा पूँजीकरण १२ खर्ब ६० अर्ब रुपैयाँले घटेको छ। गत भदौ २ गते ४४ खर्ब ६८ करोड रुपैयाँ पुगेको बजार पूँजीकरण सोमबार ३२ खर्ब सात अर्ब रुपैयाँमा झरेको छ। यस आधारमा गएको तीन महिनामै लगानीकर्ताको सम्पत्तिको मूल्य १२ खर्ब ६० अर्ब रुपैयाँले घटेको छ। जुन सम्पत्तीको क्षयीकरण असाध्यै छोटो समयमा देखिएको हो। यसअघि कहिल्यै पनि बजार यति छोटो समयमा यति धेरै अंकले घटेको थिएन।

२०७३ को बुलपछि घटेको बजारले पनि न्यूनतम अंकसम्म ओर्लन अढाइ वर्ष लगाएको थियो। यस अघि २०७३ असार १३ गते बजारले यस अघिको सबैभन्दा उच्चतम बिन्दु १८ सय ८१.४५ अंक भेट्टाएको थियो। त्यसपछि घट्न थालेको बजार २०७५ फागुन ६ गतेसम्म झर्दो अवस्थामा थियो। केही अंक तल केही अंक माथि गर्दै ओर्लेको बजार २०७५ फागुन ६ मा न्यूनतम बिन्दु ११ सय २.५१ अंक सम्म ओर्लिएको थियो। बजारले उच्चतम अंकबाट ७ सय ७८.९४ अंक घट्न ठ्याक्कै दुई वर्ष पाँच महिना २३ दिन लगाएको थियो।

तर यस पटक बजारमा सो अवधिको भन्दा ठूलो गिरावट गएको तीन महिनामै देखिएको छ। गत भदौ २ गते उच्चतम बिन्दु ३१ सय ९८.६० अंक छोएको बजार सोमबार २२ सय ८२ अंकमा ओर्लिएको छ। जुन उच्चतम बिन्दुबाट ९१६.६० अंकको गिरावट हो। तीन महिना २५ दिनमै बजारले उक्त अंक गुमाएको हो।

अघिल्लो पटक अढाइ वर्ष लगाएर घटेको बजारले यस पटक भने चार महिनामै अघिल्लो पटकको भन्दा निक्कै छोटो समयमा नै त्यो भन्दा धेरै घट्नुलाई लगानीकर्ताले सहज रुपमा लिन सकेका छैनन्। छोटो समयमै खर्बौको सम्पत्ति क्षयीकरण हुँदा लगानीकर्ता असाध्यै चिन्तित देखिएका छन्।

Leave a comment

Your email address will not be published. Required fields are marked *