हिमालयन र इन्भेष्टमेन्ट बैंकलाई राष्ट्र बैंकले सोध्यो–‘म्याद थप्दै मात्रै जाने हाे ४५ दिन भित्र मर्जर प्रक्रिया सकाउने ?’

हिमालयन र इन्भेष्टमेन्ट बैंकलाई राष्ट्र बैंकले सोध्यो–‘म्याद थप्दै मात्रै जाने हाे ४५ दिन भित्र मर्जर प्रक्रिया सकाउने ?’

https://merolagani.com/NewsDetail.aspx?newsID=76650

हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंक मर्जरमा जाने गरिसम्झौता भएको ७ महिना हुन लाग्दा समेत मर्जरमा जाने कुनै तयारी नदेखेपछि केन्द्रीय बैंकले उनीहरुलाई यस्तो प्रश्न सोध्न वाध्य भएको राष्ट्र बैंक स्रोतको भनाइ छ । ‘उहाँहरुले पहिला दिएको म्यादको समय सकिएको दिन नै औपचारिक रुपमा पत्रमार्फत ४५ दिनको समय थप्न आग्रह गर्नु भएको छ,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘उनीहरुले मागेको समय भित्र पनि मर्जर हुन सक्ने अवस्था नदेखिएपछि राष्ट्र बैंकले शंकाको दृष्टिकोणले हेरेको छ ।’

थपिएको ४५ दिनपछि पनि फेरि समय थप्नका लागि पत्र बोकेर नआउन पनि राष्ट्र बैंकले ती दुई बैंकलाई आग्रह गरेको छ । ‘४५ दिनपछि पनि सकियो भनरे फेरि समय नमाग्नु होला,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘म्याद सकियो भन्दै समय मागि रहने हो भने त यो वर्षौदिन पनि यसरी नै चलिरहन्छ । तर, तपाईहरुले त्यस्तो नगर्नु होला ।’

हिमालयन र इन्भेष्टमेन्ट बैंकलाई कति समय थप मर्जरका लागि समय दिने भन्ने बारेमा राष्ट्र बैंक छलफलमा जुटेको छ । ‘समय नथप्ने कुरामा त कुनै शंका भएन तर, कति समयलाई समय थप्ने भन्ने बारेमा भने अझै निर्णय भइसकेको छैन्,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘थपिएको समयमा मर्जर हुने निश्चितता हुनु पर्यो भन्ने मात्रै हो ।’

राष्ट्र बैंकले हिमालयन र इन्भेष्टमेन्ट बैंकलाई मंसिर १९ भित्रमा मर्जरमा जानका लागि म्याद थपेको थियो । उक्त समयमा पनि दुई बैंक मर्जरमा जान नसकेपछि सो समयबाट थप ४५ दिनका लागि म्याद थप गरिदिन आग्रह गरेका थिए ।

नेपालका दुई ठूला हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकबीच गत बैशाख ३० मर्जरमा जाने सम्झौता भएको थियो । यी दुई ‘बिग’ बैंकबीच मर्जरमा जाने सम्झौता भएको पनि ७ महिना भएको छ । तर, यति लामो समयसम्म पनि यी दुई बैंकबीच मर्जरमा जाने गरी अन्तिम तयारीमा पुगेका छैनन् ।

नेपाल राष्ट्र बैंकले यी दुई बैंक मर्जरमा जानका लागि सम्झौता भएको १५÷२० दिनमा नै एलओआई दिएको थियो । बैशाख ३० गते मर्जरमा जाने सम्झौता गरेका ती दुई बैंकलाई राष्ट्र बैंकले जेठ महिनामा नै एलओआइ दिएको थियो । पहिलो एलओआइ दिएको समय सीमा असोज पहिलो साता सकिएको थियो । तर, उक्त समय सीमा भित्र पनि मर्जरमा जान नसक्ने अवस्था आएपछि पुनः दुवै बैंकका सञ्चालक समितिले राष्ट्र बैंकलाई मर्जरको म्याद थपिदिन आग्रह गरेका थिए ।

हिमालयन र इन्भेष्टमेन्ट बैंकको आग्रहमा केन्द्रीय बैंकले मंसिर १९ सम्म मर्जरमा जानका लागि समय थपिएको थियो । तर, थपिएको समयसम्ममा पनि मर्जर हुन सकेन् । अहिले पनि मर्जरमा जान दुवै बैंकले पहल गरिहेका छैनन् ।

दुईवटै बिग हाउस भएकाले सर्वसाधारणले सोचे जस्तो मर्जरमा जान त्यति सजिलो नभएको बताइन्छ । दुई बैंकमध्ये कुनै एक मर्जरमा जान नहुने पक्षमा देखिएको छ ।

दुई बैंकबीच स्वाप रेसियोमा भने कुनै समस्या छैन् । स्वाप रेसियो १ः१ नै हो, त्यसमा कुनै ‘कन्फूजन’ नभएको राष्ट्र बैंक स्रोत बताउँछ । ‘बिबाद स्वाप रेसियोमा हैन्, मर्जरपछि बन्ने नयाँ बैंक कसको नियन्त्रणमा हुने भन्ने नै मुख्य समस्या हो,’ राष्ट्र बैंक स्रोत भन्छ, ‘नयाँ अर्ननाइजेसन कसको नियन्त्रण (कन्ट्रोल) मा हुने भन्ने नै हो । आफ्नो कन्ट्रोलमा नहुने पक्ष मर्जरमा जान हुँदैन् भन्ने पक्षमा उभिएकाले मर्जरमा समस्या भएको हो ।’

ठूलो संस्थाहरुमा जुनमा पनि कसले कन्ट्रोल गर्ने भन्ने नै मर्जरका लागि ठूलो समस्याको रुपमा रहने गरेको राष्ट्र बैंकका एक अर्का कर्मचारीले बताए । ‘अहिले त उहाँहरु दुईवटै पक्ष (हिमालयन र इन्भेष्टमेन्ट) बैकलाई आफ्नो हिसाबले कन्ट्रोल गर्नु भएको छ,’ राष्ट्र बैंकका एक कर्मचारीले भने, ‘नयाँ बन्ने बैंक कसले कन्ट्रोल गर्ने भन्ने समस्या छ, त्यसले गर्दा मर्जर नै भाँडिने सम्भावना पनि हुन्छ ।’

मर्जरमा जानका लागि एउटा पक्षले नचाहेकै राष्ट्र बैंक ती कर्मचारीले बताए । ‘नयाँ बैंकमा कुन पक्ष हावी हुनेले भन्नेले गर्दा हो मर्जर लम्बिने अवस्था आएको नत्र लम्बिने स्थिति थिएन्,’ ती कर्मचारीले भने, ‘पहिला सबै ‘ओके’ भएर सही गरेको हो । अहिले ‘गडबढ’ हुने पर्ने अवस्था नै थिएन् । नयाँ बन्ने बैंकमा कुनै एक पक्षको अस्तित्व ओझेलमा पर्ने भएर नै मर्जर लम्बिएको हो ।’

दुई बैंक भित्र एउटा ग्रुप मर्जर गर्न नदिने पक्षमा उभिएको राष्ट्र बैंकका कर्मचारीहरु बताउँछन् । तर, यो चाँहि कुन ग्रुप हो भन्ने सम्बन्धमा भने राष्ट्र बैंकका कर्मचारीहरु बताउन चाहदैनन् ।

बैशाख ३० गते मर्जरमा जाने सम्झौता गरेपछि ती दुई बैंकको शेयर कारोबार रोक्का भएको छ । सम्झौता गरेको ७ महिना हुँदा पनि लगानीकर्ताले दुबै बैंकको शेयर कारोबार गर्न पाएका छैन् ।

गत भदौं २ गते नेप्सेले नयाँ उचाइ चुमेको थियो । त्यसदिन नेप्से ३१९८ अंक पुगेको थियो । त्यसबेला लगानीकर्ताले अन्य सूचीकृत कम्पनीको शेयर बिक्री गरेर उलेख्य नाफा हात पारेका थिए । तर, कारोबार रोक्का भएका कारण हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर भएका लगानीकर्ताले भने नेप्से नयाँ उचाइमा पुगेको बेला शेयर बिक्री गर्न सक्ने अवस्थामा थिएनन् ।

हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकले वैशाख ३० मा गरेको मर्जर सम्झौता अनुसार इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे मर्जरपछि पनि अध्यक्ष नै रहने र बैंकको सीईओ हिमालयन बैंकका सीईओ अशोक राणा रहने त्यस्तै डेपुटी सीईओमा भने ज्योति प्रकाश पाण्डे हुने भनिएको थियो ।

इन्भेष्टमेन्टसँग मर्जरको प्रक्रिया अपनाइरहेकै समयमा हिमालयन बैंकको अध्यक्ष परिवर्तन भएको छ । कर्मचारी सञ्चय कोषका तुलसीप्रसाद गौतमको ठाउँमा प्रचण्ड बहादुर श्रेष्ठलाई ल्याइएको छ । यसले पनि मर्जरमा केही प्रभाव पारेको बताइन्छ ।

हिमालय बैंकका सिइओ अशोक राणा नयाँ बन्ने बैंकको पनि सिइओ हुने र इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वी बहादुर पाण्डे नयाँ बैंकको पनि अध्यक्ष हुने सहमति भएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *