सिडिएससी र ब्रोकरले नयाँ टिएमएसको सबै प्रविधि तयार गरे, तुरुन्तै लाइभ गर्न सक्ने, नियामकको अनुमतिले अड्कायो

सिडिएससी र ब्रोकरले नयाँ टिएमएसको सबै प्रविधि तयार गरे, तुरुन्तै लाइभ गर्न सक्ने, नियामकको अनुमतिले अड्कायो

https://merolagani.com/NewsDetail.aspx?newsID=76647

ब्रोकर कम्पनीहरूका अनुसार नियामक निकायले अनुमति दिएमा तुरुन्तै प्रयोगमै लैजान सक्ने बताएका छन्। उनीहरूले नयाँ टिएमएस कष्टमाइज प्रक्रिया सकाएर अनुमतिको पर्खाइमा रहेको बताएका छन्। “हामीले प्रयोगमा लैजाने भनेको नयाँ टिएमएसको कष्टमाइज गर्ने काम सकाएका छौ। अब लाइभ टेष्टिङ गर्न बाँकी छ। जसको लागि हामीले सिडिएससीसँग डिपि होल्डिङकाे डाटा माग गरिरहेका छौ। तर, उसले पनि एपिआई टेष्टिङको काम अन्तिम चरणमा रहेको भनेको छ। सिडिएससीले उक्त डाटा दिए लगत्तै हामीले नयाँ टिएमएसबाट काम गर्न सक्छौ। नियामक निकायले अनुमति दिए लगानीकर्तालाई तुरुन्तै नयाँ टिएमएबाट कारोबार गर्न दिने अवस्थामा हामी आइपुगेका छौ,” नेपाल स्टक ब्रोकर एसोसिएशनका अध्यक्ष सन्तोष मैनालीले मेरोलगानीसँग भने।

नयाँ टिएमएसबाट काम गर्न भन्दै ब्रोकर कम्पनीहरूले विश्व बजारमा प्रयोगमा रहेको अत्याधुनिक टिएमएस सफ्टवेयर भित्र्याइको बताएका छन्। तर, नयाँ टिएमएस सफ्टवेयर ल्याएर मात्रै पुग्दैन। त्यसलाई प्रयोगमा ल्याउन बजार सञ्चालक र नियामकले अनुमति दिनु पर्छ। अनि मात्रै उक्त नयाँ प्रविधिलाई प्रयोगमा लैजान सकिन्छ। सबैभन्दा पहिले त उक्त टिएमएसको सम्बन्ध नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को म्याचिङ इन्जिनसँग गाँसिनुपर्छ। म्याचिङ इन्जिन र नयाँ टिएमएस इन्टर लिङ्क भएपछि मात्रै कारोबार गर्न सकिन्छ। जसको लागि नेप्सेले अनुमति दिनुपर्छ।

अर्कोतर्फ शेयर छ/छैन भनेर हेर्नको लागि सिडिएससीसँग पनि नयाँ टिएमएसको इन्टरलिङ्क हुनुपर्छ। त्यसको लागि सिडिएससीले अनुमति दिनुपर्छ। अनि मात्रै नयाँ टिएमएसबाट काम गर्न सकिन्छ। सिडिएससीले भने ब्रोकर कम्पनीलाई सम्बन्ध दिनकै लागि भनेर एपिआइ सफ्टवेयर निर्माण गरिसकेको छ। उसले यतिबेला परीक्षण गरिरहेको जनाएको छ। जुन अन्तिम चरणमा रहेको सिडिएससीको भनाई छ। “हामीले ब्रोकर कम्पनीहरूलाई डाटा दिन भन्दै एपिआइ निर्माण गरिसकेका छौ। जसको अन्तिम परीक्षण हुँदैछ। परीक्षण सकिए लगत्तै नियामक निकायको अनुमति भए उक्त डाटा दिन सकिन्छ,” सिडिएसी डाटाबेस सेक्सनका प्रमुख योगराज जोशीले मेरोलगानीसँग भने।

उता नेप्सेले पनि म्याचिङ इन्जिनमा एक्सेस दिन कुनै समस्या नरहेको जनाएको छ। उसले नयाँ टिएमएसको काम गर्न दिन भन्दै एपिआइ पोलिसि स्वीकृतिका लागि धितोपत्र बोर्ड पठाएको जनाएको छ। बोर्डले स्वीकृत गरे लगत्तै नयाँ टिएमएस सञ्चालन गर्नको लागि चाहिने पूर्वाधार दिन सकिने नेप्सेका एक उच्च अधिकारीले जानकारी दिए।

तर, उता धितोपत्र बोर्डले भने अहिले कुनै पनि नेपाली कम्पनीले काम गर्न नसक्ने गरी नेप्सेले मापदण्ड तोकी पठाएकोले उक्त विषय अड्किएको जनाएको छ। नेप्सेले किन त्यति कसिलो मापदण्ड बनाएर पठाएको भनेर बोर्डले सोधेकोमा उसको जबाफ चित्त बुझ्दो नआएकोले छलफलकै क्रममा रहेको बोर्ड उच्च स्रोतको भनाइ छ। अर्कोतर्फ बोर्ड अध्यक्ष नभएको र नयाँ काम भएकोले पनि त्यसलाई तत्कालै अघि लान नसकिएको स्रोतको भनाइ छ। बोर्ड अध्यक्ष नियुक्तिभन्दा अघि भने उक्त विषय टुङ्गिन सक्ने सम्भावना निक्कै न्यून रहेको स्रोतको जिकिर छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *